किन बन्ने इन्जिनियर - Why become an Engineer?

 किन बन्ने इन्जिनियर ?


इन्जिनियर बन्न सोचे जति सहज छैन । ४ वर्ष जटिल प्राविधिक अध्ययन र फिल्ड वर्कमा बिताएर स्नातक तह पार गरेपछि इन्जिनियर भइन्छ । इन्जिनियरिङ डिग्रीले एक इन्जिनियर हुन मात्र सिकाउँदैन । यसले एक कुशल व्यवस्थापक, व्यापारी र उद्यमी बन्न पनि सिकाउँछ ।


इन्जिनियरिङलाई सबैभन्दा पुरस्कृत र रमाइलो पेसाको रूपमा लिइन्छ। कुनै पनि विषयको इन्जिनियरिङ डिग्रीले तपाईंलाई आकर्षक तलब दिलाउनुका साथै संसारको कुनै पनि कुनामा सजिलै लैजान सक्छ ।


यस्ता छन् इन्जिनियर बन्नैपर्ने ७ कारण:


रचनात्मकताको प्रयोग:


सामान्यतया इन्जिनियरहरूले गर्ने काम भनेको मात्र रचनात्मक हुने हो । इन्जिनियरिङमा गणित र भौतिक विज्ञान पढाइनेभन्दा पनि कसरी प्रयोग गर्ने भनेर सिकाइन्छ । सो सिकाइबाट आफ्नो सीप विकास त हुन्छ नै, अझ बढी कलात्मक र रचनात्मक पनि भइन्छ ।


संसार घुम्ने अवसर दिलाउँछ:


हाल संसारभरि इन्जिनियरिङ डिग्रीको ठूलै माग छ र यसलाई सम्मान पनि गरिन्छ । इन्जिनियरिङ डिग्रीवालाले संसारको कुनै पनि कुनामा काम गर्न चाहेमा सजिलै पाउने गर्छन् ।


पर्याप्त तलब:


संसारकै उदाहरण हेर्ने हो भने सबैभन्दा धेरै तलब खाने पेसाकर्मीमा इन्जिनियरहरू नै पर्छन् ।


आविष्कार गर्न सिकाउँछ:


४ वर्ष गणित, भौतिक विज्ञान, संरचना जस्ता विषयमा लगातार अध्ययन गरेपछि आफ्नै प्रणाली र परियोजनाको आफैंले विकास गर्न सक्षम भइन्छ । हरेक सेमेस्टरमा केही न केही प्रोजेक्ट गरिरहँदा स्नातक सम्पन्न हुँदासम्म केही नयाँ आविष्कार पनि गर्न सकिन्छ ।


विश्वमै ठूलो प्रभाव:


घर भवन होस् वा कुनै पनि ठूला परियोजना, सडक, धारो होस् वा कुनै पनि उपकरण, सबैमा इन्जिनियरकै हात हुन्छ । सानादेखि ठूला परियोजनामा काम गर्न सक्ने इन्जिनियरिङले कुनै पनि देश र सिंगो विश्वकै भौतिक, प्राविधिक र आर्थिक क्षेत्रको विकास गरेको छ ।


रोजगारको सिर्जना:


इन्जिनियरिङ डिग्रीले एक कुशल व्यवस्थापक, व्यापारी र उद्यमी बन्न पनि सिकाउने हुँदा इन्जिनियरले जागिर नै खानुपर्छ भन्ने छैन । प्राविधिक सीप, रचनात्मकता र कलाको प्रयोग गर्दै केही नयाँ व्यापार वा उद्यमको सुरुवात पनि गर्न सक्छन् । रोजगारको सिर्जना गर्न सक्छन् ।


विभिन्न क्षेत्रमा जम्न सक्छन्:


इन्जिनियर भएपछि व्यापारको विकास, मार्केटिङ र प्राविधिक पत्रकारिता जस्ता क्षेत्रमा पनि काम गर्न सकिन्छ ।


राज कुमार रोका मगर

सव-ईन्जिनियर



Popular posts from this blog