चौतारीको साङ्गोपाङ्गो BY राज कुमार रोका मगर

राज कुमार रोका मगर (रुकुम पूर्व)-  पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरु हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।

 

पहिले अहिलेको जस्तो यातायातका साधनहरु नहुँदा भरियाबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरुको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दु:खसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।

त्यस्तै चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरु पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे ।

 

आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ । यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रुपमा पनि लिने गरिन्छ । मानिसहरुले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रुपमा पनि लिने गर्दथे । ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचनाहरु मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।

 

नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरु बिर्सिंदै जान थालिएको छ । मान्छेहरु हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने छ ।

 

चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोको विशेषता रहेको हुन्छ ।

 

गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’ को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ? यसप्रति न राज्य न स्थानीय वासि न सरोकारवाला सामाजिक अगुवा कसैले चासो राखेको पाईएको छैन ।


धार्मिक मान्यता अनुसार पनि चौतारी निर्माण गरेर वर पीपल, बेल, समी र तुलसी रोप्ने कार्य अत्यन्त फलदायी भएको मानिएको छ । चौतारी निर्माण गरेर वर र पीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि रहेको छ ।


पौष ५ अभिमूखिकरण.pptx - Google Slides 




Popular posts from this blog